सुवाश मंडल
बलरा, सर्लाही ।। सर्लाहीको बलरा नगरपालिका वडा नं. ७ डुमरियामा किसानहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा कृषि मोटर वितरण गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ को वडा स्तरीय योजना अन्तर्गत “एक किसान परिवार, एक कृषि मोटर वितरण कार्य”नामक कार्यक्रम मार्फत ३५ जना कृषकहरूलाई सामग्री हस्तान्तरण गरिएको हो।
वडा अध्यक्ष प्रवीण कुमार सिंहको अध्यक्षता तथा बलरा नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कौशिला देवीको प्रमुख आतिथ्यमा बुधबार एक विशेष कार्यक्रमका बीच उक्त सामग्रीहरू वितरण गरिएको हो । आधुनिक कृषि उपकरणले सहयोग पुग्ने विश्वासले वितरण कार्यक्रममा किसानहरूलाई सिँचाइमा सहजता थपोस् भन्ने उद्देश्यले उच्च गुणस्तरको किलोस्कर २ एचपी (2HP) को कृषि मोटर, साथमा आवश्यक नेपुल र बैण्ड समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघराज पन्त तथा स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गरिरहेका वडा अध्यक्ष सिंहले आफ्नो मन्तव्य राख्दै भने “हाम्रो मुख्य उद्देश्य नै ‘एक किसान परिवार, एक कृषि मोटर’ पुर्याउने हो । यसले डुमरियाका किसान दाजुभाइहरूको श्रम र समय बचत गर्नेछ। म सम्पूर्ण कृषकहरूको उज्ज्वल भविष्यको कामना गर्दछु र आगामी दिनमा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
कृषि मोटर पाएपछि स्थानीय किसानहरू निकै हर्षित भएका छन् र यसले गाउँमा सिँचाइको समस्यालाई धेरै हदसम्म कम गर्ने विश्वास व्यक्त गरेका छन् ।










