२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

रामविश्वास मुखिया
रौतहट ।। माध्यमिक शिक्षा परीक्षा २०८२ काे नतिजामा श्री माध्यमिक विद्यालय ब्रह्मपुरी, राजदेवी नगरपालिकामै अब्बल देखिएकाे छ । राष्ट्रिय परीक्षा बाेर्डले हिजाे साेमबार सार्वजनिक गरेकाे नतिजामा मा वि ब्रह्मपुरी पालिकामै अब्बल स्थान हासिल गरेकाे हाे ।
गत चैत १९ गतेबाट सञ्चालित भई २६ गतेसम्म चलेकाे परीक्षामा यस विद्यालयबाट २९ जना सहभागी भएकाेमा २३ जना राम्रो GPA काे साथ उत्तीर्ण भएकाे विद्यालयकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवले जानकारी दिनुभयाे ।
विद्यालयकी अंशिका साह, विद्या सिंह, प्रिती दास र आयुशी चाैहान गरी ४ जना A+ अर्थात सर्वाेत्तम नतिजासहित ७९.३८% विद्यार्थी उत्तीर्ण भएकाे वहाँले बताउनु भयाे ।
राजदेवी नगरपालिकामा सञ्चालित ६ वटा माध्यमिक विद्यालयमध्ये मा वि ब्रह्मपुरी ७९.३८ % नतिजासहित पहिलाे स्थानमा रहन सफल भएकाे हाे । आर्थिक स्रोत शून्य रहेकाे अवस्था तथा पर्याप्त स्रोतसाधनकाे अभावका बाबजुद पनि विद्यालयकाे प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीकाे सक्रियताले नतिजामा व्यापक सुधार भएकाे विद्यालयकाे शिक्षक ब्रदी नारायण साहले बताउनु भयाे ।
पाेहाेरकाे SEE काे नतिजामा कमजाेर देखिएकाे मा वि ब्रह्मपुरी वर्ष भरीकाे प्रधानाध्यापककाे कुसल नेतृत्व, शिक्षककाे सकृयता र विद्यार्थीकाे मिहिनेत तथा लगनशीलता एवम् कक्षा १० का विद्यार्थीलाई गराइएको नि:शुलक अतिरिक्त तयारी कक्षाले नतिजामा व्यापक सुधार गरी पालिकामै उत्कृष्ट भएकाे समेत शिक्षक साहले बताउनु भयाे ।

टेकनाथ खतिवडा✍️
नेपालकाे राजनीतिक इतिहासमा २०८२ चैत १३ गतेकाे दिनले विशेष महत्व राख्दछ । पहिलाेपटक मधेसी मूलका नेपाली नागरिक बालेन साह कार्यकारी प्रमुख(प्रधानमन्त्री) बन्नु केवल एउटा आकस्मिक राजनीतिक घटना हाेइन । बरु दशकौँदेखि सञ्चित सङ्घर्ष , त्याग र चेतनाकाे परिणाम हाे । याे उपलब्धि केवल गत भदौ २३ र २४ मा देखिएकाे”जेन्जी विद्राेह”काे मात्र फल हाेइन । यसले मधेसकाे लामाे ऐतिहासिक आन्दाेलन र पहिचानकाे लडाईंलाई प्रतिनिधित्व गर्दछ ।

मधेसकाे राजनीतिक चेतना कुनै एकै दिनमा विकसित भएकाे हाेइन । यसकाे बिजाराेपण पुराना आन्दाेलन र नेताहरुकाे याेगदानबाट भएकाे हाे । दुर्गानन्द झाजस्ता व्यक्तिहरुले मधेसीअस्मिता र अधिकारकाे आवाज उठाए । त्यसै गरी रामराजाप्रसाद सिँहले गणतन्त्र र समावेशीताका लागि आफ्नाे जीवन नै समर्पण गरे । यिनै सङ्घर्षहरुले मधेसमा राजनीतिक चेतनाकाे जग बसाल्याे ।

यसै क्रममा ५१ सालदेखि माओवादी जनविद्रोहले पनि राज्यसंरचनामाथि प्रश्न उठायाे र समावेशीताकाे मुद्धालाई राष्ट्रिय बहसकाे केन्द्रमा ल्यायाे । यसकाे नेतृत्व प्रचण्ड र बाबुरामले गरेका थिए । यस नेतृत्वले मधेसलगायतका विभिन्न जातिजनजातिका हक र अधिकारलाई सुनिश्चित गर्ने वातावरण तयार गर्याे ।

त्यसपछि मधेसकाे आन्दाेलनलाई संगठित र सशक्त बनाउने काम उपेन्द्र यादव(सप्तरी)काे नेतृत्वमा भएकाे मधेस विद्राेहले गर्याे । यसलाई निर्णायक माेडमा पुर्‍याउन महन्त ठाकुर(धनुषा) रामेश्वरप्रसाद यादव(रौतहट) आदिकाे उल्लेखनीय याेगदान रहेकाे छ । मधेस आन्दाेलनले मधेसकाे पहिचान , समान अधिका र र राज्यसत्तामा सहभागिताकाे मागलाई स्पष्ट रुपमा अघि बढायाे । यस क्रममा रमेश महताे(लाहान) लगायतका कयौँ युवाहरुले साहदत प्राप्त गरे । उपेन्द्र यादव उप तथा परराष्ट्रमन्त्री भएकाबेला संयुक्त राष्ट्र सङ्घकाे कार्यक्रममा मधेसकाे आवाजलाई सशक्त उठान गरे ।

यति सङ्घर्षका बाबजुद पनि मुख्य ठुला दलहरु(नेपाली काङ्ग्रेस र एमाले) ले मधेसलाई ७ सालदेखि नै भाेट बैंकको रुपमा प्रयाेग गरे । उनीहरुले मधेसबाट समर्थन लिए । तर नेतृत्व दिने सबालमा पछि हटे । यस्ता अन्य सयौं बेथितिहरु विकास भयाे । यही पृष्ठभूमिमा नयाँ पुस्ताकाे चेतना र परिवर्तनकाे चाहनाले”जेन्जी विद्राेह” काे उदय भयाे । याे विद्राेहले पुराना राजनीतिक संरचनालाई चुनौती दिँदै नयाँ नेतृत्वकाे आवश्यकता ओँल्यायाे । यसै लहरमा उभिएका काठमाडौका मेयर बालेनले राष्ट्रिय नेतृत्व प्राप्त गरे ।

बालेनकाे उदयले देखाएको छ कि अब नेपालमा नेतृत्व कुनै एक क्षेत्र वा वर्गकाे मात्र हुने छैन । याे सम्पूर्ण नेपाली जनताकाे साझा अधिकर हाे । मधेसले लामाे समयदेखि गरेकाे सङ्घर्षकाे फलस्वरूप आज त्याे समुदायले राष्ट्रकाे सर्वाेच्च कार्यकारी नेतृत्व सम्हाल्ने अवसर पाएकाे छ । याे दिन आउनमा माथि उल्लेखित शक्तिलगायत रास्वपाका सभापति रवि लामिछानेकाे त्याग र कुशल नेतृत्व महत्वपूर्ण छ ।

अत : बालेन साह प्रधानमन्त्री बन्नु केवल उनकाे व्यक्तिगत सफलता हाेइन । याे सिङ्गो देशकाे ऐतिहासिक जित हाे । याे घटनाले नेपालमा समावेशी लाेकतन्त्रकाे नयाँ अध्याय सुरु गरेकाे छ । अब चुनौती भनेकाे यस उपलब्धिलाई संस्थागत गर्दै सबै समुदायलाई समान अवसर र सम्मान दिने दिशामा अघि बढ्नु हाे ।

चन्दन पटेल
रौतहट ।। रौतहट जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटको प्रथम साधारण सभाबाट नया कार्यसमिती चयन गरिएको छ । रौतहट जिल्लाको दुर्गाभागावती गाउपालिका वडा नम्बर १ पिपराका सामुदायिक भावनामा आयोजना गरिएको साधारण सभाको खुल्ला सत्रबाट प्रस्ताव गरीएका कार्यसमितिलाई बन्द सत्र मार्फत सर्वसहमती बाट पारीत गरिएको जनाईएको छ ।

कार्यक्रममा संघका अध्यक्ष उमाशंकर साहले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिका रुपमा पशु सेवा विज्ञ केन्द्रका प्रमुख इन्दु राय , विशिष्ट अतिथिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि , संघका पदाधिकारी, सदस्य तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सभामा कुखुरा व्यवसायको वर्तमान अवस्था, किसानहरूले भोगिरहेका समस्या तथा सम्भावित समाधानका उपायहरूबारे छलफल गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै संघका अध्यक्षले कुखुरा पालन व्यवसायलाई व्यवस्थित र दिगो बनाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिए। साथै, किसानहरूको हकहित संरक्षण, बजार व्यवस्थापन र उत्पादन वृद्धि सम्बन्धी विषयहरूमा समेत छलफल भएको संघका सचिव राधेश्याम साहले बताएका छन् । साधारण सभाले आगामी कार्ययोजना तय गर्दै संघलाई थप सक्रिय बनाउने निर्णय समेत गरेको छ ।

संघको साधारणसभाबाट सर्वसहमत रुपमा चयन भएका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुमा उमाशंकर साह- अध्यक्ष रणजित राम -उपाध्यक्ष राधेश्याम साह -सचिव ,महेश कुशवाह -उपाध्यक्ष नैना सिंह ,कोषाध्यक्ष सहित ११ सदस्यीय कार्यसमिति चयन गरीको सचिव साहले बताएका छन्। यस्तै सदस्यीय सल्लहकार समिति उमाशंकर तिवारी -संयोजक विजय कुमार मिश्रा तथा शेख अकतरलाई चयन गरीको संघले जनाएको छ।

सुवाश मंडल
रौतहट, १७ चैत । रौतहट जिल्ला अदालतमा कार्यरत एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट लिएको ५० हजार नगद रकम सहित पक्राउ गरेका छन् ।
जिल्ला अदालत गौरको विगो फाँटमा डिट्ठा पदको करारका कर्मचारी लवकुमार सिंह सेवाग्राहीबाट नगद ५० हजार रकम लिदै गरेको अवस्थामा रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले पक्राउ गरेका हुन् ।
डिएसपी राजिव श्रेष्ठको कमाण्डमा खटिएका टोलीले करारका कर्मचारी सिंह सेवाग्राहीलाई अदालतको फैसला बमोजिम दा. खा. पुर्जी गरी जग्गा फुकुवा गराइदिन अनावश्यक रुपमा रकम माग गरेको र ति सेवाग्रहीले रकम दिइसकेको अवस्थामा अख्तिायरको टोलीले नियन्त्रणमा लिएको अख्तियारको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
डिट्ठा सिंह पक्राउ परेपछि स्थलगत मुचुल्का उठाउन एवं बयानको कार्य अख्तियारको टोलीले गरिरहेको गौर नगरपालिका–१ का वडाध्यक्ष लालबाबु चौधरीले तराई टप संग भने ।
रंगेहात पक्राउ परेका सिंहलाई आवश्यक कारवाही एवं अनुसन्धानको लागि हेटौडा तर्फ लगिएको छ ।
स्मरण रहोस, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीद्वारा अदालतको कर्मचारीलाई रंगेहात पक्राउ गरेपछि जिल्लामा भ्रष्ट कर्मचारीहरुमा खैलाबैला मचेका छन् ।

सुवाश मंडल
रौतहट ।। जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटको हालै सम्पन्न विशेष बैठकले जिल्लाको राजनीतिक परिदृश्यमा एक महत्वपूर्ण मोड ल्याएको छ। बैठकमा उपस्थित बहुमत सदस्यहरूको निर्णय र व्यापक छलफलपश्चात बिकास कुमार यादवलाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष पदमा चयन गरिएको छ । यो चयनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र एकतालाई मात्र बलियो बनाएको छैन, बल्कि रौतहटमा जनमत पार्टीको संगठन विस्तारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

जनमत पार्टी केन्द्रिय सचिवालयको निर्देशनानुसार शनिबार जिल्ला पार्टी कार्यालय गौरमा जिल्ला समन्वय समितिको बैठक बसी तपसिल बमोजिम सात सदस्यीय जिल्ला पदाधिकारी समिति सर्वसहमति बाट चयन गरेको छ । अध्यक्षमा बिकास कुमार यादवलाई चयन गरेको छ भन्ने उपाध्यक्ष (म.)माति मनिषा देवी र उपाध्यक्ष (पु.) रामप्रवेश पटेल चयन भएको छ् । त्यस्तै सचिवमा प्रकाश झा,सह-सचिवमा असमा खातुन,धर्मेन्द्र महतो र कोषाध्यक्षमा राजु यादव गरि सात सदस्यीय जिल्ला पदाधिकारी समिति चयन गरेका छन् ।

कुनै पनि लोकतान्त्रिक दलका लागि सर्वसम्मतिको निर्णय शक्ति र विश्वासको प्रतीक हो। अध्यक्षमा यादवको चयनले जिल्लाभरका कार्यकर्ताहरूमा एकताबद्ध सन्देश प्रवाह गरेको छ । जिल्ला समन्वय समितिका बहुमत तथा सदस्यहरूको उपस्थिति र समर्थनले नयाँ कार्यसमितिलाई पूर्ण वैधानिकता र काम गर्ने नैतिक बल प्रदान गरेको छ । नयाँ पदाधिकारी समितिमा युवा उत्साह र अनुभवी राजनीतिकर्मीहरूको समिश्रण रहेकाले रौतहटका स्थानीय मुद्दाहरूलाई सशक्त रूपमा उठाउन सहज हुने देखिएको छ ।

नवनियुक्त अध्यक्ष विकास कुमार यादव र उनको टोलीले आगामी दिनमा निम्न क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । वडा र पालिका तहसम्म पार्टीको संरचनालाई थप व्यवस्थित र सक्रिय बनाउने उदेश्यले यादवलाई अध्यक्षको जिम्मेवारी दिएको छ् । यादवको कार्यकालमा जनमत पार्टीले रौतहटमा मात्र नभई समग्र मधेस प्रदेशमै आफ्नो प्रभावकारी उपस्थिति देखाउन सफल हुने विश्वास गरिएको हो ।

हनुमत कुमार यादव
रौतहट, १३ चैत ।। रौतहटको राजदेवी नगरपालिकामा “मेयर कप क्रिकेट प्रतियोगिता २०८२” को भव्य उद्घाटनसँगै नगरभर खेलकुदमय माहोल सिर्जना भएको छ । नगर प्रमुख भिखारी प्रसाद यादवले औपचारिक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले युवाहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्वस्थ, अनुशासित र ऊर्जावान समाज निर्माणका लागि खेलकुद अपरिहार्य माध्यम भएको उल्लेख गर्दै नगरपालिकाले खेल क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।

मेयर यादवले नगरभित्र रहेका प्रतिभाशाली खेलाडीहरूलाई पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरू आयोजना गरिएको जानकारी दिए । उनले खेलकुदमार्फत युवाहरूलाई नकारात्मक गतिविधिबाट टाढा राख्दै सकारात्मक दिशातर्फ उन्मुख गराउन सकिने धारणा व्यक्त गरे । साथै, आगामी दिनहरूमा खेल मैदानको स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा विभिन्न खेलकुद कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा उपप्रमुख राजकुमारी साहले आफ्नो मन्तव्य व्यक्त गर्दै यस्ता प्रतियोगिताले युवाहरूमा अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गर्ने बताइन् । उनले नगरभित्रका प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन गर्दै खेलकुद क्षेत्रको समग्र विकासमा नगरपालिका प्रतिबद्ध रहेको धारणा राखिन् ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत उपसचिव बिकाउ यादवले खेलकुदले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धामार्फत सामाजिक एकता मजबुत हुने बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन नगरपालिका सदैव सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटनसँगै सुरु भएको पहिलो खेल वडा नं. ३ (चन्डीया बसतपुर) र वडा नं. ६ बीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भयो । टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. ३ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २२६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको वडा नं. ६ ले लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गर्न नसक्दा १९ ओभरमै सबै विकेट गुमाउँदै मात्र ११९ रन बनाउन सफल भयो । यससँगै वडा नं. ३ ले १०८ रनको फराकिलो अन्तरले प्रभावशाली विजय हात पार्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ३ का बाल्मिकि श्रीवास्तव ‘म्यान अफ द म्याच’ घोषित भए । उनले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए भने ब्याटिङमा पनि २६ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

प्रतियोगिताको पहिलो खेल नै रोमाञ्चक र उत्साहजनक बनेकोले आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ ।

हनुमत कुमार यादव
रौतहट ।। गर्मी र वर्षायामको सुरुवातीसँगै बस्ती-बस्तीमा लामखुट्टेको आतंक बढेको छ । साँझ पर्न नपाउँदै घरभित्र र बाहिर लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई हम्मेहम्मे पर्न थालेको छ । तर, नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो समस्या समाधानका लागि स्थानीय निकाय र सम्बन्धित सहरका प्रशासनहरू भने कुम्भकर्ण निद्रामा देखिएका छन् ।

पछिल्ला केही वर्षयता डेंगु, मलेरिया र कालाजार जस्ता रोगहरूले भयावह रूप लिइरहेका छन् । तैपनि, यस वर्ष स्थानीय सरकारले लामखुट्टे नियन्त्रणका लागि ठोस कदम अघि सारेका छैनन् । ढल निकासको उचित व्यवस्थापन नहुनु, खाल्डाखुल्डीमा पानी जम्नु र झाडीहरूको सरसफाइमा ध्यान नदिँदा लामखुट्टेको वृद्धि तीव्र भएको छ । “दिउँसो पनि घरमा ढुक्कले बस्न सकिने अवस्था छैन। बालबालिका र वृद्धवृद्धाहरू बिरामी पर्ने डर छ, तर नगरपालिकाले अहिलेसम्म न स्प्रे गरेको छ, न त औषधि नै छर्केको छ,” स्थानीय एक बासिन्दाले आक्रोश पोखेका छन् ।

विगतका वर्षहरूमा लामखुट्टे नियन्त्रणका लागि टोल-टोलमा ‘फगिङ’ (धुवाँ छर्कने कार्य) गरिन्थ्यो । यद्यपि, विज्ञहरूका अनुसार फगिङभन्दा प्रभावकारी मानिने ‘लार्भा खोज र नष्ट गर’ अभियान यस पटक कतै पनि सशक्त रूपमा देखिएको छैन । सरकारी अस्पतालहरूमा ज्वरोका बिरामीहरूको चाप बढ्न थालेको छ, जसमध्ये अधिकांश लामखुट्टेजन्य रोगको लक्षणसँग मिल्दाजुल्दा छन् ।

लामखुट्टेको बढनुको मुख्य कारण अव्यवस्थित ढल: खुला नाला र जाम भएका ढलहरू लामखुट्टेका मुख्य प्रजनन् थलो बनेका छन् ।
स्थानीय निकायहरूले स्वास्थ्य शीर्षकमा बजेट विनियोजन गरे पनि त्यसको कार्यान्वयनमा ढिलासुस्ती गरिरहेका छन् ।समन्वय अभावले गर्दा नियन्त्रणका प्रयासहरू प्रभावकारी हुन सकेका छैनन् ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै अहिलेको प्रमुख उपाय हो । तर, व्यक्तिगत प्रयासले मात्र यो आतंक नियन्त्रण हुन सक्दैन । सरकारले तत्कालै सरसफाइ अभियान र विषादी छर्कने कार्यलाई तीव्रता नदिए यसले ठुलो मानवीय संकट निम्त्याउन सक्ने चेतावनी उनीहरूले दिएका छन् ।

नागरिकले तिरेको करबाट चल्ने स्थानीय सरकारहरू केवल चुनावका बेला मात्र सक्रिय हुने होइन, यस्ता दैनिक समस्या र स्वास्थ्य जोखिमका बेला अभिभावकीय भूमिकामा देखिनु जरुरी छ । लामखुट्टेको भुनभुनसँगै फैलिने रोगको आवाज सुन्न अब सम्बन्धित निकायले ढिला गर्नु हुँदैन ।विज्ञको सुझाव रहेको छ ।

सुवाश मंडल
रौतहट ।। राैतहटकाे ईशनाथ नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालय औरैयाकाे प्रधानाध्यापक भीखर प्रसादलाई आज सम्मान तथा बिदाई गरिएकाे छ । शिक्षण पेशाबाट अनिवार्य अवकाश हुनु भएकाे प्रधानाध्यापक प्रसादलाई आज एक कार्यक्रमकाे बिच सम्मान तथा बिदाई गरिएकाे हाे ।

ईशनाथ नगरपालिकाकी नगर प्रमुख काैशल्या देवीकाे प्रमुख आतिथ्यमा विद्यालय प्राङ्गणमा आज सम्पन्न कार्यक्रम मार्फत वहाँकाे सम्मान तथा बिदाई गरिएकाे विद्यालयकाे शिक्षक संजय कुमार यादवले जानकारी दिनु भयाे । माध्यमिक तहकाे गणित शिक्षककाे रूपमा शिक्षण सेवामा प्रवेश गर्नु भएकाे वहाँ अस्थायी र स्थाथी गरी झण्डै २९ वर्ष सेवा गरी अनिवार्य अवकाश हुनु भएकाे हाे ।

विद्यालयकाे माध्यमिक तहकाे सामाजिक शिक्षक राम विश्वास मुखियाले सञ्चालन गर्नु भएकाे साे कार्यक्रममा ईशनाथ नगरपालिकाकाे याेजना शाखा प्रमुख इशराजुल खान, शिक्षा शाखाकाे निरंजन सिन्हा, स्थानीय समाजसेवी डा• निरज सिन्हा, प्रमोद कुमार यादव, विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष लालबाबु प्रसाद यादव, पूर्व अध्यक्ष रामवचन साह, वि व्य स सदस्य नारायण महताे, चन्दा देवी, मा वि डुमरियाकाे प्रधानाध्यापक दिपक मेहता, मा वि घिउराकाे प्रधानाध्यापक चन्देश्वर यादव, मा वि मठियाकाे प्रधानाध्यापक अरविन्द साह, मा वि बन्जरहाकाे प्रधानाध्यापक नारायण साह लगायतकाे विशेष उपस्थित रहेकाे थियाे ।

अवकाश हुनु भएकाे प्रधानाध्यापक प्रसादकाे याेगदानकाे कदर गर्दै विद्यालय परिवार र विद्यार्थीहरूले अबिर, फूलमाला र गम्छा ओढाएर सम्मान गरेकाे थियाे । विद्यालयकाे माध्यमिक तहकाे विज्ञान शिक्षक खुर्शिद आलममे स्वागत् मन्तव्य राख्नु भएकाे साे कार्यक्रममा बाेल्ने बक्ताहरूले प्रधानाध्यापक भीखर प्रसादकाे शिक्षा र विद्यालयप्रतिकाे याेगदान तथा सेवा भागकाे खुलेर प्रशंसा गरेकाे थियाे।

सुवाश मंडल
रौतहट ।। रौतहटको चपुरमा नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग (DHM) को नेतृत्वमा एक महत्त्वपूर्ण परामर्श तथा समन्वय कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ ।

वागमती नदी सुधार आयोजना अन्तर्गत आयोजित यस कार्यक्रमले मुख्यत: रौतहट र सर्लाही जिल्लाका बाढी प्रभावित क्षेत्रका समुदायहरूलाई लक्षित गर्दै समुदायमा आधारित पूर्वसूचना प्रणाली (CbEWS) को सुदृढीकरण र सरोकारवालाहरू बीचको समन्वयमा जोड दिएको छ । यस कार्यशालाका मुख्य पक्ष र उपलब्धिहरू जस्तै पूर्वसूचना प्रणाली (CbEWS)को सुदृढीकरण बाढी आउनुपूर्व नै सूचना प्राप्त गर्दा जनधनको क्षति निकै कम गर्न सकिन्छ ।

यस परियोजनाले विशेष गरी निम्न प्राविधिक र सामाजिक पक्षहरूमा काम गरिरहेको छ ।
* नदीको बहाव मापन: वागमती नदीको माथिल्लो तटीय क्षेत्रमा वर्षा र पानीको सतह नाप्ने आधुनिक उपकरणहरूको व्यवस्था।
* सूचनाको पहुँच: ‘रियल-टाइम’ डाटालाई स्थानीय तहका विपद् व्यवस्थापन समिति र समुदायका अगुवाहरूसम्म छिटो पुर्‍याउने संयन्त्र।
* स्थानीय प्रतिक्रिया: सूचना प्राप्त हुनासाथ समुदायले कसरी सुरक्षित स्थानमा सर्ने र आफ्ना पशुचौपाया तथा महत्त्वपूर्ण कागजात जोगाउने भन्ने तालिम ।

सरोकारवालाहरूबीचको समन्वय र परामर्श
यस कार्यशालामा रौतहट र सर्लाहीका स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज र प्राविधिक विज्ञहरूको उपस्थिति थियो। छलफलका मुख्य बुँदाहरू यस प्रकार थिए:
* अन्तर-जिल्ला समन्वय: वागमती नदीले दुवै जिल्लालाई असर गर्ने हुनाले सूचना आदानप्रदानमा दुई जिल्लाबीचको सहकार्यलाई अनिवार्य बनाउने।
* तटबन्ध र भौतिक संरचना: बाढीको जोखिम न्यूनीकरणका लागि निर्माण भइरहेका तटबन्धहरूको अवस्था र तिनको प्रभावकारिताको समीक्षा।
* स्थानीय अपनत्व: आयोजनाका क्रियाकलापहरूमा स्थानीय सरकारको भूमिका बढाउने र दिगोपन सुनिश्चित गर्ने।

रौतहट र सर्लाहीको संवेदनशीलता
वागमती नदीमा आउने बाढीले हरेक वर्ष यी दुई जिल्लाका तल्लो तटीय क्षेत्रमा ठूलो वितण्डा मच्चाउने गरेको छ।
* भौगोलिक चुनौती: समथर भूभाग भएकाले पानीको निकास ढिलो हुनु र नदीले धार परिवर्तन गरिरहनु यहाँको मुख्य चुनौती हो।
* समुदायको सहभागिता: यस परियोजनाले जोखिममा रहेका सीमान्तकृत र विपन्न समुदायलाई पूर्वसूचनाको दायरामा ल्याई उनीहरूको उत्थानशीलता (Resilience) बढाउने लक्ष्य राखेको छ । जस्तै आधुनिक जल-मौसम स्टेशनहरूको प्रभावकारी सञ्चार सूचना,स्थानीय ‘टास्क फोर्स’ लाई उद्धार र सूचना सञ्चारमा दक्ष बनाउने,संघीय, प्रदेश र स्थानीय सरकारबीच विपद् व्यवस्थापनमा एकरूपता।

सम्पन्न यो कार्यशाला केवल एक औपचारिक कार्यक्रम मात्र नभई, वागमती नदीको तटमा रहेका हजारौं परिवारको जीवन रक्षाका लागि चालिएको एक ठोस कदम हो। सरकारी निकाय र स्थानीय समुदायबीचको यो ‘ब्रिज’ ले भविष्यमा हुने प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणमा कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

सन्तोष यादव
सर्लाही ।। मिति २०८२/१०/२० गते दिल्लीमा सम्पन्न विश्व नेतृत्त्व शिखर सम्मेलन–२०२६ को अवसरमा जनस्वास्थ्य (क्षयरोग कार्यक्रम) का विज्ञ राजेश कुमार यादव लाई नेपाल शिक्षा परिवर्तन अवार्ड प्रदान गरिएको छ। उक्त अवार्ड पूर्व शिक्षा, स्वास्थ्य तथा राजनीतिज्ञ एवं दार्शनिक डा. करन सिंह ले प्रदान गर्नुभएको हो।

क्षयरोग अनुसन्धानमा निरन्तर सक्रिय यादव यसअघि सन् २०२५ मा बेलायतस्थित रोयल सोसाइटी अफ ट्रपिकल मेडिसिन बाट सम्मानित भइसकेका छन्। साथै, सन् २०२४ मा गण्डकी प्रदेशमा उत्कृष्ट क्षयरोग नियन्त्रण कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेबापत उहाँ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र बाट उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनुभएको थियो।

यादवले आधारभूत शिक्षा आफ्नै गाउँको सरकारी विद्यालय—श्री माध्यमिक विद्यालय, आनन्दनगर टाँडी, बरहथवा नगरपालिका–८, सर्लाहीबाट प्राप्त गर्नुभएको हो। संयोगवश, उहाँले अध्ययन गरेको यही विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष का रूपमा नेतृत्व सम्हाल्दै विद्यालय रूपान्तरणमा उल्लेखनीय योगदान दिनुभयो।

उहाँ अध्यक्ष हुनुअघि विद्यालय आधारभूत तहसम्म मात्र सीमित थियो, विद्यार्थी संख्या करिब ३२० थियो र भौतिक संरचना जीर्ण अवस्थामा थियो। तर उहाँको कार्यकालमा तीन वटा नयाँ भवन निर्माण, कक्षा १० सम्म पठन–पाठन विस्तार तथा विद्यार्थी संख्या करिब ७२५ पुर्‍याउन सफल भयो। यसका साथै विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्न स्थानीय तहसँग सहकार्य गरिएको स्थानीय बासिन्दाहरू बताउँछन्।

स्थानीय जनताका अनुसार पछिल्ला ४० वर्षमा विभिन्न व्यक्तिले विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरे पनि राजेश कुमार यादवले तीन वर्षमै हासिल गरेको उपलब्धि ऐतिहासिक रहेको छ। उहाँको कामले सार्वजनिक विद्यालय पनि उदाहरणीय बन्न सक्छ भन्ने विश्वास स्थापित भएको उनीहरूको भनाइ छ।

पूर्व रक्षा मन्त्री हरि प्रसाद उप्रेती, मधेश प्रदेश सरकारका पूर्व अर्थ मन्त्री सञ्जय यादव तथा बरहथवा नगर प्रमुख कल्पना कटुवाल ले यादवलाई इमानदारिता, कार्यकुशलता र समाजप्रतिको उत्तरदायित्वका उत्कृष्ट उदाहरणका रूपमा मूल्यांकन गर्नुभएको छ।

अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै यादवले कामको पहिचान पाउनु ठूलो कृतज्ञताको अनुभूति भएको बताउनुभयो। उहाँले भन्नुभयो,
“सामुदायिक विद्यालय सक्षम छन्, तर व्यवस्थापनको अभावले अपेक्षित नतिजा आउन सकेको छैन। विद्यालय सफल बनाउन प्रतिबद्धता, सुशासन, राजनीतिकरणको अन्त्य तथा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको कर्तव्यनिष्ठता आवश्यक छ।”

उहाँले नेपाल शिक्षा परिवर्तन अवार्ड को सफलताको श्रेय परिवार, पूर्व रक्षा मन्त्री हरि प्रसाद उप्रेती, पूर्व प्रदेश अर्थ मन्त्री सञ्जय यादव, नगर प्रमुख कल्पना कटुवाल, गाउँका अभिभावक, आफन्त, गुरुजन तथा सहयोगी संस्थाहरूलाई दिनुभयो।

हाल राजेश कुमार यादव पोखरा विश्वविद्यालयमा मास्टर अफ हेल्थ इन्फर्मेटिक्स कार्यक्रम संयोजक का रूपमा कार्यरत हुनुहुन्छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।