
सुवाश मंडल
बलरा, सर्लाही ।। “मानवता हाम्रो धर्म, सहयोग हाम्रो कर्म” भन्ने मूल नाराका साथ सर्लाहीको बलरा नगरपालिका–११, छतौनामा क्रियाशील समाज सेवा युवा क्लबले बाढीपीडितहरूका लागि राहत संकलन अभियान सञ्चालन गरेको छ ।
भदौ १० गते भोटेकोसी नदिमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूलाई तत्काल सहायता पुर्याउने उद्देश्यले क्लबले छतौनालाई मुख्य संकलन केन्द्र बनाएर अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत खाद्यान्न, लत्ताकपडा, आवश्यक औषधि, पिउने पानी तथा सरसफाइका सामग्रीहरू संकलन भइरहेको आयोजक अक्षय कुमार मंडलले जनाएको छ । पीडितहरूलाई तत्काल राहतको आवश्यकता रहेकाले संकलन कार्य तुरुन्तै सुरु भइसकेको छ ।
”सानो सहयोग, ठूलो मानवता” भन्ने सन्देश दिँदै क्लबले यस दुःखद घडीमा सम्पूर्ण स्थानीयवासी, समाजसेवी, तथा इच्छुक महानुभावहरूलाई हातेमालो गर्दै सहयोग गर्न हार्दिक अपिल गरेको छ । सबैको सानो प्रयासले विपद्मा परेकाहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै आयोजक समाज सेवा युवा क्लबले सद्भाव, एकता र सहयोगका लागि सबैप्रति धन्यवाद ज्ञापन समेत गरेको छ ।
सुवाश मंडल
सर्लाही ।। सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा सवारी साधन तोडफोड भएको घटनाप्रति जिल्ला प्रहरी कार्यालय सर्लाहीले ध्यानाकर्षण भएको जनाएको छ। सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो प्रसारित भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया तीव्र पारेको छ।
प्रहरीका अनुसार विद्यालयभित्र सर-सफाइ गराउने विषयमा प्रधानाध्यापकले विद्यार्थीहरूलाई गालीगलौज तथा दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र शिक्षकहरूबीच छलफल भइरहेको थियो। सोही छलफलका क्रममा ५५ वर्षीय प्रधानाध्यापक बीरेन्द्र झामाथि कुटपिट भएको हो ।
कुटपिटबाट उनी सामान्य घाइते भएका छन् भने उनको सवारी साधनमा समेत तोडफोड गरिएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट खटिएको टोलीले घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका–२ बस्ने २० वर्षीय अभिषेक कापडलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार पक्राउ परेका कापडमाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य जारी रहेको छ ।
सुवाश मंडल
बलरा,सर्लाही । सर्लाहीको बलरा नगरपालिका-४ स्थित श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक र विद्यार्थीहरूबीच उत्पन्न विवाद र त्यसपछिका घटनाप्रति नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । भदौ १५ गते सोमबार प्रधानाध्यापकमाथि भएको आक्रमण तथा उहाँको निजी सवारीसाधनमा गरिएको तोडफोडको घटनालाई नगर प्रमुख कुशवाहाले “अत्यन्त दुःखद, निन्दनीय र खेदजनक” भन्दै सो कार्यको भत्सर्ना गरेका छन् ।
नगर प्रमुखद्वारा जारी विज्ञप्तिमा विद्यालय शान्ति, अनुशासन र ज्ञानको पवित्र थलो भएकाले शिक्षकको मनोबल उच्च राख्दै सुरक्षित र शान्तिपूर्ण शिक्षण-सिकाइ वातावरण कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख छ । घटनाको निष्पक्ष छानबिनका लागि बलरा नगरपालिका, नगर शिक्षा समितिले मंगलबार नै छानबिन समिति गठन गर्ने र समितिको सिफारिसका आधारमा दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही अघि बढाइने प्रतिबद्धता जनाइएको छ।
उक्त घटनालाई लिएर विद्यालयको शैक्षिक वातावरण थप जटिल नबनाउन आग्रह गर्दै नगर प्रमुख कुशवाहाले सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई नियमित पठनपाठन सुचारु राख्न अनुरोध गरेका छन्। साथै, विद्यालयमा शान्तिपूर्ण वातावरण निर्माणका लागि अभिभावक, शिक्षाप्रेमी, जनप्रतिनिधि, राजनीतिक दल तथा सम्पूर्ण सरोकारवालाहरूलाई संयम भई सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गरिएको छ ।
सुवाश मंडल
रौतहट ।। स्वराज आन्दोलनका प्रथम वीर शहीद स्वर्गीय राममनोहर यादवको नवौँ (९औँ) पुण्यतिथिको अवसरमा जनमत पार्टी रौतहटले गौरस्थित जिल्ला पार्टी कार्यालयमा विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले स्वर्गीय यादवको तस्वीरमा अविर अर्पण गर्नुका साथै दिप प्रज्वलन गरी उहाँको योगदानको स्मरण गरेको जनमत पार्टीको रौतहट जिल्ला अध्यक्ष बिकास कुमार यादवले जानकारी दिनु भएको छ् ।
नेता यादवको अनुसार मधेस र समग्र उत्पीडित समुदायको न्याय, अधिकार र स्वराजका लागि शहीद राममनोहर यादवले दिनुभएको उच्च बलिदान सधैँ स्मरणीय र प्रेरणादायी रहने कार्यक्रममा उपस्थित नेताहरूले बताए। उहाँले देखाउनुभएको बाटो र दिएको बलिदानले न्याय, समानता तथा सामाजिक परिवर्तनको आन्दोलनलाई अझ दृढताका साथ अगाडि बढाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो । उक्त अवसरमा सहभागीहरूले “वीर शहीद — अमर रहे!”, “जनमत पार्टी — जिन्दावाद!” जस्ता नारा लगाउँदै शहीद यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सुवाश मंडल
गौर, रौतहट ।। जिल्ला ट्राफिक प्रहरी कार्यालय गौर, रौतहटको कार्यशैलीलाई लिएर स्थानीय सर्वसाधारण तथा सवारी चालकहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्। सर्वसाधारणलाई नियम र कानुनको पाठ पढाउने ट्राफिक प्रहरी स्वयंले भने दोहोरो मापदण्ड अपनाउँदै सर्वसाधारणलाई अकारण सास्ती दिने गरेको पाइएको छ।
कार्यालयको ठीक अगाडि प्रस्ट रूपमा ‘नो पार्किङ’ (No Parking) को बोर्ड राखिएको भए तापनि त्यहाँ दैनिकजसो नियम विपरीत मोटरसाइकलहरू पार्किङ गरिएका हुन्छन्। तर, आफ्नै आँखाअगाडि भएको उक्त नियम उल्लङ्घनतर्फ ट्राफिक प्रहरीको ध्यान जाँदैन र त्यस्ता सवारीसाधनमाथि कुनै किसिमको कारबाही हुँदैन।
यसको ठीक उल्टो, घरायसी तथा व्यक्तिगत कामको सिलसिलामा आवतजावत गर्ने सर्वसाधारणलाई भने विभिन्न बहानामा रोकेर अनावश्यक दुःख दिने गरिएको स्थानीयको गुनासो छ। ट्राफिक नियम सुधार र सुरक्षित यात्राको नाममा सर्वसाधारणको ढाड सेक्ने गरी हजारौँ रुपैयाँको रसिद (चालान) काट्ने गरिएको छ।
स्थानीयवासीका अनुसार, ट्राफिक प्रहरीको मुख्य ध्यान ट्राफिक व्यवस्थापन र जनचेतना फैलाउनु भन्दा पनि जरिवाना असुलीमा मात्र केन्द्रित देखिन्छ। नियम सबैका लागि बराबर हुनुपर्नेमा पहुँचवाला र कार्यालय अगाडिका नियम उल्लङ्घनकर्तालाई छुट दिने र सर्वसाधारणलाई मात्र निसाना बनाउने परिपाटीले प्रहरी प्रशासनमाथिको जनविश्वास घट्दै गएको छ।
यस विषयमा सम्बन्धित माथिल्लो निकाय र प्रशासनले तुरुन्त ध्यान दिई ट्राफिक प्रहरीको मनपरी रोक्न र सबैका लागि समान रूपमा नियम लागू गराउन स्थानीयहरूले माग गरेका छन् ।
रौतहट, ०८ साउन ।। हनुमत कुमार यादव ।। समुदायस्तरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रौतहटको गौरस्थित सिया प्यालेसमा सञ्चालन गरिएको सातदिने बेसिक विपद् स्वयंसेवक परिचालन तालिम (VMT) सम्पन्न भएको छ ।
साउन २ गतेदेखि ०८ गते २४ अगस्ट २०२६ सम्म सञ्चालन गरिएको तालिम नेपाल रेडक्रस सोसाइटी (NRCS) रौतहट जिल्ला शाखाले केन्द्रीय कार्यालयसँगको समन्वयमा आयोजना गरेको हो । तालिमको प्राविधिक अधिकार तथा गुणस्तर सुनिश्चितताको जिम्मेवारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को रहेको थियो भने आर्थिक सहयोग कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) मार्फत UNFPA नेपालले उपलब्ध गराएको थियो ।
तालिममा गौर नगरपालिकाका विभिन्न वडाबाट २४ जना युवा स्वयंसेवक सहभागी भएका थिए । सहभागीलाई खोज तथा उद्धार, प्राथमिक उपचार, आधारभूत जीवनरक्षा, बाढी उद्धार तथा जल सुरक्षा, सुरक्षित स्थानान्तरण, पूर्वसूचना तथा चेतावनीमा आधारित प्रतिकार्य, भग्नावशेष व्यवस्थापनलगायतका विषयमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।
त्यसैगरी विपद्का समयमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR), आपत्कालीन अवस्थामा आवश्यक न्यूनतम प्रारम्भिक सेवा प्याकेज (MISP), लैङ्गिक हिंसा न्यूनीकरण तथा संरक्षणसम्बन्धी विषयलाई समेत तालिममा समेटिएको थियो।
तालिमपछि प्रमाणित स्वयंसेवकहरू स्थानीय विपद् व्यवस्थापन समिति (LDMC) अन्तर्गत विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापना र पुनरुत्थानका गतिविधिमा परिचालन हुनेछन्। उनीहरूले पूर्वसूचना तथा चेतावनी प्रसारण, सुरक्षित स्थानान्तरण, प्रारम्भिक उद्धार, आश्रयस्थल व्यवस्थापन, राहत सामग्री वितरण तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत जोखिममा रहेका समुदायलाई सहयोग गर्नेछन्।
रौतहट बाढी, नदी कटान तथा डुबानको उच्च जोखिममा रहेको जिल्लाका रूपमा चिनिन्छ। यस्तो अवस्थामा स्थानीय स्तरमै दक्ष स्वयंसेवक तयार पारिनुले विपद्का बेला समयमै उद्धार, राहत र मानवीय सहयोग पुर्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
तालिमको समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका सभापति राजकिशोर प्रसाद यादवले समापन मन्तव्य दिएका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला अधिकारी दिनेश सागर भुषाल, सशस्त्र प्रहरी बल ११ गण हजमिनीयाका प्रमुख कार्यक्रम संयोजक नगेन्द्र अर्याल, प्रशिक्षक भरत प्रसाद कोइराला सहितका टोलीलगायत सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा वक्ताहरूले विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायको सुरक्षामा प्रभावकारी रूपमा प्रयोग गर्न स्वयंसेवकहरूलाई आग्रह गरेका थिए। स्थानीय स्तरमै दक्ष जनशक्ति तयार हुनु विपद् पूर्वतयारी र प्रभावकारी प्रतिकार्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताइएको छ।
सुवाश मंडल
हरियाणा,भारत ।। भारतको फरीदाबादस्थित एक निजी विद्यालय परिसरभित्रै सोमबार एक महिला शिक्षिकाको अति नै बिभत्स ढङ्गले छुरा प्रहार गरी हत्या गरिएको छ । प्रहरी चौकीबाट केही मिटरको दूरीमा भएको यस विभत्स घटनाले सिङ्गो क्षेत्रमा त्रास फैल्याएको छ ।
प्रहरी अनुसन्धानका अनुसार सिकरौना गाउँकी शिक्षिका सन्ध्यालाई कोट गाउँ निवासी २१ वर्षीय अभियुक्त अमितले विगत दुई वर्षदेखि निरन्तर पछ्याउँदै (स्टाकिङ) मानसिक तनाव दिँदै आएका थिए । सन्ध्याले उनीसँगको सबै सम्बन्ध तोडेर प्रहरीमा उजुरी दिने चेतावनी दिएपछि अमितले योजनाबद्ध रूपमा हत्याको षड्यन्त्र रचेका थिए ।
सोमबार नियमितझैँ अध्यापनका लागि विद्यालय पुगेकी सन्ध्यालाई भेट्न अमित अनुहारमा सेतो कपडा बाँधेर पुगेका थिए । उनले सन्ध्याका श्रीमान् (विक्की) भेट्न आएको भन्दै झुक्याएर गेटसम्म बोलाएका थिए। सन्ध्या गेट नजिकै पुग्नेबित्तिकै अमितले उनलाई समातेर बाहिर घिसार्दै अन्धाधुन्ध छुरा प्रहार गरे। विद्यालयको सीसीटीभी फुटेजमा अमितले मात्र ३२ सेकेन्डको अवधिमा ३४ पटक छुरा प्रहार गरेको भयावह दृश्य कैद भएको छ ।
शिक्षिकाको चिच्याहट सुनेर बचाउन आएका विद्यालयका कर्मचारीहरूतर्फ समेत हतियार देखाएर जाइलागेपछि घटनास्थलमा भागाभाग भएको थियो। सोही मौकाको फाइदा उठाउँदै अमित फरार भएका थिए । घटना लगत्तै सक्रिय भएको प्रहरी टोलीले फुटेज र सूचनाका आधारमा तीव्र खोजी गरी घटना भएको दुई घण्टामै अभियुक्त अमितलाई रगतले लतपतिएकै कपडामा पक्राउ गर्न सफल भएको छ। दिनदहाडै विद्यालयभित्रै भएको यस नृशंस घटनापछि विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दाहरू स्तब्ध र त्रसित बनेका छन् ।
सुवाश मंडल
मधेस प्रदेश ।। स्वार्थी गठबन्धनले कहिलैपनि देशलाई न त सुशासन दिन्छ न त विकास दिन्छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष रामकिशोर सिंहले देश तथा प्रदेशहरुमा पटक-पटक हुने गरेका राजनीतिक गठबन्धनहरू जनता र देशको हितमा नभई विशुद्ध स्वार्थबाट प्रेरित रहेको बताएका छन् । नेताहरूको व्यक्तिगत तथा पारिवारिक स्वार्थ पूर्ति गर्नका लागि मात्र यस्ता गठजोड हुने गरेको दाबी गर्दै उनले वर्तमान राजनीतिक संस्कृतिप्रति कडा असन्तुष्टि व्यक्त गरे ।
राजनीतिक दलहरूबीच सिद्धान्त र नीतिको आधारमा भन्दा पनि शक्ति प्राप्तिका लागि अप्राकृतिक गठबन्धन बन्ने गरेको उल्लेख गर्दै सिंहले भने, “यस्ता स्वार्थ प्रेरित गठजोडबाट जनताले कुनै पनि प्रकारको सेवा प्रवाह (डेलिभरी) को आशा गर्न सक्दैनन्। यसले न त समाजलाई भ्रष्टाचारमुक्त बनाउन सक्छ, न त देशमा सुशासन नै कायम गर्न सक्छ ।
विकास र समृद्धिका कामहरूलाई अगाडि बढाउन यस्ता गठबन्धनहरू पूर्ण रूपमा असफलसिद्ध भएको उनको ठहर छ। भविष्यमा यस्ता सिद्धान्तहीन र स्वार्थमा आधारित राजनीतिक गठजोडको कुनै औचित्य नरहने र यसले मुलुकलाई थप अन्योलतातर्फ मात्र धकेल्ने उनले बताए ।
सुवाश मंडल
गौर, रौतहट ।। जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा अपराध नियन्त्रण, शान्ति सुरक्षा र गैरकानुनी गतिविधि विरुद्ध आक्रामक रूपमा कार्य सम्पादन गरेको छ । प्रहरी उपरीक्षक सिताराम रिजालले आइतबार एउटा् पत्रकार सम्मेलन गरेर रौतहटको जिल्लाको वार्षिक प्रगति विवरण सार्वजनिक गरेका छन् । वार्षिक प्रगति विवरण अनुसार यस अवधिमा भन्सार छली, अवैध काठ, सवारी कारबाही र अवैध उत्खननबाट कुल ५ करोड ९२ लाख ५५ हजार ७२१ रुपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्य भन्दा ५.२४ प्रतिशतले बढी हो ।
आर्थिक वर्षभरि रौतहटमा कुल १,१६२ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ६८० वटा फर्स्योट भइसकेका छन् भने ४७२ वटा अनुसन्धानको क्रममा रहेका छन् । विभिन्न अपराधमा संलग्न ६१४ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, अदालतको फैसला कार्यान्वयन तर्फ लक्ष भन्दा बढी सफलता हासिल गर्दै ४४८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको छ। जसबाट ७६ वर्ष ११ महिना ११ दिन कैद भुक्तान र ६९ लाख ७१,८७४ रुपैयाँ जरिवाना असुल भएको छ ।
प्रहरी उपरीक्षक रिजालका अनुसार प्रहरीले लागुऔषध विरुद्धको अभियानमा ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरेको छ। सो क्रममा ८४७ केजी ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर, ४,२६५ एम्पुल मनोदिपक पदार्थ र १३,९९६ वटा प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको छ। यसैगरी, अवैध हातहतियार तर्फ ६ थान हतियार र ११ थान गोली सहित ३ जना र १ लाख ३६ हजार खोटा मुद्रा (जाली नोट) सहित ७ जना पक्राउ परेका छन् ।
सडक सुरक्षा तर्फ वर्षभरि १,०८८ वटा सवारी दुर्घटना भएका छन्, जसमा ५३ जनाको मृत्यु र १,६९६ जना घाइते भएका छन्। ट्राफिक नियम मिच्ने १०,२५५ वटा सवारी साधनलाई कारबाही गरी १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । भन्सार छली तर्फ ठूलो सफलता हात पार्दै प्रहरीले १५५ वटा सवारी साधन नियन्त्रणमा लिनुका साथै १८ जनालाई पक्राउ गरेको छ। स्रोत नखुलेको १३ लाख ६२,२०० रुपैयाँ नगद सहित ४ जना पक्राउ परेका छन्। अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत ५ वटा भट्टी नष्ट गरी १,५४५ लिटर तयारी मदिरा र २,००० लिटर कच्चा पदार्थ बरामद गरिएको छ।
८ लाख १३ हजार ५७३ जनसंख्या र १,१२६ वर्ग किलोमिटर क्षेत्रफल रहेको रौतहट जिल्लामा ९०४ जनाको दरबन्दी (हाल ७७० जना कार्यरत) रहेको प्रहरीले जनस्तरमा पनि राम्रो प्रभाव छोडेको छ। वर्षभरि ९५४ वटा सामुदायिक कार्यक्रम संचालन गरिएका छन्, जसमा २४,३७३ जना स्थानीय नागरिकको सहभागिता रहेको थियो। जिल्ला प्रहरी कार्यालयबाट यस अवधिमा महिला, पुरुष, बालबालिका, ज्येष्ठ नागरिक र शारीरिक अशक्त गरी कुल १,३३,७७४ जना सेवाग्राहीहरू लाभान्वित भएका छन् । उत्कृष्ट कार्य गर्ने १६२ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ भने अनुशासन उल्लंघन गर्ने २८ जनामाथि कारबाही समेत गरिएको छ ।


