२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

राजदेवी नगरपालिका मेयर कप क्रिकेट प्रतियोगिता २०८२ सुरु

हनुमत कुमार यादव
रौतहट, १३ चैत ।। रौतहटको राजदेवी नगरपालिकामा “मेयर कप क्रिकेट प्रतियोगिता २०८२” को भव्य उद्घाटनसँगै नगरभर खेलकुदमय माहोल सिर्जना भएको छ । नगर प्रमुख भिखारी प्रसाद यादवले औपचारिक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले युवाहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्वस्थ, अनुशासित र ऊर्जावान समाज निर्माणका लागि खेलकुद अपरिहार्य माध्यम भएको उल्लेख गर्दै नगरपालिकाले खेल क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।

मेयर यादवले नगरभित्र रहेका प्रतिभाशाली खेलाडीहरूलाई पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरू आयोजना गरिएको जानकारी दिए । उनले खेलकुदमार्फत युवाहरूलाई नकारात्मक गतिविधिबाट टाढा राख्दै सकारात्मक दिशातर्फ उन्मुख गराउन सकिने धारणा व्यक्त गरे । साथै, आगामी दिनहरूमा खेल मैदानको स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा विभिन्न खेलकुद कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा उपप्रमुख राजकुमारी साहले आफ्नो मन्तव्य व्यक्त गर्दै यस्ता प्रतियोगिताले युवाहरूमा अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गर्ने बताइन् । उनले नगरभित्रका प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन गर्दै खेलकुद क्षेत्रको समग्र विकासमा नगरपालिका प्रतिबद्ध रहेको धारणा राखिन् ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत उपसचिव बिकाउ यादवले खेलकुदले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धामार्फत सामाजिक एकता मजबुत हुने बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन नगरपालिका सदैव सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटनसँगै सुरु भएको पहिलो खेल वडा नं. ३ (चन्डीया बसतपुर) र वडा नं. ६ बीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भयो । टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. ३ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २२६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको वडा नं. ६ ले लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गर्न नसक्दा १९ ओभरमै सबै विकेट गुमाउँदै मात्र ११९ रन बनाउन सफल भयो । यससँगै वडा नं. ३ ले १०८ रनको फराकिलो अन्तरले प्रभावशाली विजय हात पार्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ३ का बाल्मिकि श्रीवास्तव ‘म्यान अफ द म्याच’ घोषित भए । उनले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए भने ब्याटिङमा पनि २६ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

प्रतियोगिताको पहिलो खेल नै रोमाञ्चक र उत्साहजनक बनेकोले आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।