सुवाश मंडल
बारा । इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट प्रहरी बरिष्ठ नायब निरीक्षक प्रकाश कुमार खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले ४ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित झोलुङ्गे पुल क्षेत्रमा चकरीबाट अमलेखगञ्जतर्फ आउँदै गरेको ना २ ह ११६० नम्बरको अटोलाई शंकाको आधारमा रोकी चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा एक यात्रुले बोकेको टाटेपाटे खैरो रङको झोला खानतलासी गर्दा झोलाभित्र कालो प्लास्टिकले बेरिएका दुई वटा पोका फेला परेका थिए। उक्त पोका खोली हेर्दा जम्मा ४ किलो ६ सय ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिका–२२ चकरी निवासी ३० वर्षीय नाईस बाबु तामाङलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले गाँजा, अटो तथा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।










