टेकनाथ खतिवडा✍️
नेपालकाे राजनीतिक इतिहासमा २०८२ चैत १३ गतेकाे दिनले विशेष महत्व राख्दछ । पहिलाेपटक मधेसी मूलका नेपाली नागरिक बालेन साह कार्यकारी प्रमुख(प्रधानमन्त्री) बन्नु केवल एउटा आकस्मिक राजनीतिक घटना हाेइन । बरु दशकौँदेखि सञ्चित सङ्घर्ष , त्याग र चेतनाकाे परिणाम हाे । याे उपलब्धि केवल गत भदौ २३ र २४ मा देखिएकाे”जेन्जी विद्राेह”काे मात्र फल हाेइन । यसले मधेसकाे लामाे ऐतिहासिक आन्दाेलन र पहिचानकाे लडाईंलाई प्रतिनिधित्व गर्दछ ।
मधेसकाे राजनीतिक चेतना कुनै एकै दिनमा विकसित भएकाे हाेइन । यसकाे बिजाराेपण पुराना आन्दाेलन र नेताहरुकाे याेगदानबाट भएकाे हाे । दुर्गानन्द झाजस्ता व्यक्तिहरुले मधेसीअस्मिता र अधिकारकाे आवाज उठाए । त्यसै गरी रामराजाप्रसाद सिँहले गणतन्त्र र समावेशीताका लागि आफ्नाे जीवन नै समर्पण गरे । यिनै सङ्घर्षहरुले मधेसमा राजनीतिक चेतनाकाे जग बसाल्याे ।
यसै क्रममा ५१ सालदेखि माओवादी जनविद्रोहले पनि राज्यसंरचनामाथि प्रश्न उठायाे र समावेशीताकाे मुद्धालाई राष्ट्रिय बहसकाे केन्द्रमा ल्यायाे । यसकाे नेतृत्व प्रचण्ड र बाबुरामले गरेका थिए । यस नेतृत्वले मधेसलगायतका विभिन्न जातिजनजातिका हक र अधिकारलाई सुनिश्चित गर्ने वातावरण तयार गर्याे ।
त्यसपछि मधेसकाे आन्दाेलनलाई संगठित र सशक्त बनाउने काम उपेन्द्र यादव(सप्तरी)काे नेतृत्वमा भएकाे मधेस विद्राेहले गर्याे । यसलाई निर्णायक माेडमा पुर्याउन महन्त ठाकुर(धनुषा) रामेश्वरप्रसाद यादव(रौतहट) आदिकाे उल्लेखनीय याेगदान रहेकाे छ । मधेस आन्दाेलनले मधेसकाे पहिचान , समान अधिका र र राज्यसत्तामा सहभागिताकाे मागलाई स्पष्ट रुपमा अघि बढायाे । यस क्रममा रमेश महताे(लाहान) लगायतका कयौँ युवाहरुले साहदत प्राप्त गरे । उपेन्द्र यादव उप तथा परराष्ट्रमन्त्री भएकाबेला संयुक्त राष्ट्र सङ्घकाे कार्यक्रममा मधेसकाे आवाजलाई सशक्त उठान गरे ।
यति सङ्घर्षका बाबजुद पनि मुख्य ठुला दलहरु(नेपाली काङ्ग्रेस र एमाले) ले मधेसलाई ७ सालदेखि नै भाेट बैंकको रुपमा प्रयाेग गरे । उनीहरुले मधेसबाट समर्थन लिए । तर नेतृत्व दिने सबालमा पछि हटे । यस्ता अन्य सयौं बेथितिहरु विकास भयाे । यही पृष्ठभूमिमा नयाँ पुस्ताकाे चेतना र परिवर्तनकाे चाहनाले”जेन्जी विद्राेह” काे उदय भयाे । याे विद्राेहले पुराना राजनीतिक संरचनालाई चुनौती दिँदै नयाँ नेतृत्वकाे आवश्यकता ओँल्यायाे । यसै लहरमा उभिएका काठमाडौका मेयर बालेनले राष्ट्रिय नेतृत्व प्राप्त गरे ।
बालेनकाे उदयले देखाएको छ कि अब नेपालमा नेतृत्व कुनै एक क्षेत्र वा वर्गकाे मात्र हुने छैन । याे सम्पूर्ण नेपाली जनताकाे साझा अधिकर हाे । मधेसले लामाे समयदेखि गरेकाे सङ्घर्षकाे फलस्वरूप आज त्याे समुदायले राष्ट्रकाे सर्वाेच्च कार्यकारी नेतृत्व सम्हाल्ने अवसर पाएकाे छ । याे दिन आउनमा माथि उल्लेखित शक्तिलगायत रास्वपाका सभापति रवि लामिछानेकाे त्याग र कुशल नेतृत्व महत्वपूर्ण छ ।
अत : बालेन साह प्रधानमन्त्री बन्नु केवल उनकाे व्यक्तिगत सफलता हाेइन । याे सिङ्गो देशकाे ऐतिहासिक जित हाे । याे घटनाले नेपालमा समावेशी लाेकतन्त्रकाे नयाँ अध्याय सुरु गरेकाे छ । अब चुनौती भनेकाे यस उपलब्धिलाई संस्थागत गर्दै सबै समुदायलाई समान अवसर र सम्मान दिने दिशामा अघि बढ्नु हाे ।










