सुवाश मंडल
आग्रा ।। भारतको आग्रामा एक हप्तादेखि रहस्यमय बनेको एक व्यक्तिको बेपत्ता प्रकरणको डरलाग्दो रूप सार्वजनिक भएको छ। प्रारम्भिक प्रहरी अनुसन्धानका अनुसार, विगत ४५ दिनदेखि हराइरहेका भनिएका सुरेन्द्र नामका व्यक्तिको शव उनकै घरको बाथरुमको भुइँमुनि गाडिएको अवस्थामा फेला परेको छ ।
यसअघि मृतककी पत्नीले आफ्ना श्रीमान डेढ महिनादेखि बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। तर, अनुसन्धानका क्रममा घरभित्रै खानतलासी गर्दा प्रहरीको टोलीले बाथरुमको एउटा हिस्सामा भर्खरै नयाँ प्लास्टर र टाइल्स लगाएको फेला पार्यो। उक्त नयाँ निर्माणमाथि शंका लागेर उत्खनन गर्दा भुइँमुनि लुकाइएको अवस्थामा सुरेन्द्रको शव फेला परेको हो।
घटना सार्वजनिक भएसँगै प्रहरीले मृतककी पत्नीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। अपराधको वास्तविक कारण र घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएकोबारे आधिकारिक निष्कर्ष आउन बाँकी नै छ ।
यस्ता जघन्य र संवेदनशील अपराधका घटनाहरू सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरूमा “महिला वा श्रीमतीहरूबाट हुने अपराधको प्रवृत्ति बढेको” भन्दै सतही टिप्पणीहरू हुने गरेको पाइन्छ। तर, समाजशास्त्र र अपराध विज्ञानका जानकारहरूका अनुसार कुनै एउटा विरलै घट्ने घटनालाई लिएर सम्पूर्ण समूह वा लिङ्गमाथि सामान्यीकरण (Generalization) गर्नु गलत र भ्रामक हुन्छ।










