सुवाश मंडल
सर्लाही ।। सर्लाहीको बरहथवा नगरपालिका–८, टाडीमा समाचार संकलनको क्रममा उज्यालो पहरा मिडियाका संचालक तथा पत्रकार जितेन्द्र कुशवाहालाई इलाका प्रहरी कार्यालय बरहथवाका असई राजेश प्रसाद यादवले धम्की दिएका छन्।
असाेज ११ गते दिउँसो करिब ३ बजे पत्रकार कुशवाहाले प्रहरी चढेको मोटरसाइकलमा अगाडिको नम्बर प्लेट नभएको देखेपछि फोटो खिचेका थिए। सोही क्रममा असई यादव र साथमा रहेका प्रहरी जवानले फोटो डिलिट गर्न दबाब दिँदै धम्की दिएका थिए। घटनाको क्रममा मोबाइल फोन खोस्ने प्रयास समेत भएको तर स्थानीयवासीहरू भेला भएपछि शारीरिक आक्रमण हुन नसकेको पीडित पत्रकार कुशवाहाले बताए।
पत्रकार कुशवाहाका अनुसार असई यादवले “तँ जस्तो धेरै पत्रकार छन्, जो मसँग काम गर्छन्। तँ फोटो खिचेर के गर्न सक्छस्? कसलाई सोधेर खिचिस?” जस्ता आक्रमणात्मक शब्द प्रयोग गर्दै धम्की दिएका थिए। साथै, “फोटो खिच्ने सौख छ भने गएर पालिकासँग गाडी मागिदे, त्यसपछि फोटो खिच” भन्दै सार्वजनिक अपमान गरेको समेत आरोप छ।
कुशवाहाले भने, “कानुनको रक्षक नै भक्षक बनेपछि आम नागरिकले के सिक्छ? के कानुन सर्वसाधारणका लागि मात्र हो? प्रहरीको वर्दी लगाएको मान्छेले जे पनि गर्न पाउने हो?” भन्दै गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार, बरहथवामा रहेको ट्राफिक प्रहरीले साधारण नागरिकलाई मात्र नियम देखाउने तर प्रहरी स्वयंले उल्लंघन गर्ने गरेको देखिदैन्।
यस घटनाप्रति पत्रकार कुशवाहाले पत्रकारिता पेशा र अभिव्यक्ति स्वतन्त्रतामाथि ठूलो धक्का पुगेको बताएका छन्। साथै, उनले पत्रकार महासंघ सर्लाही शाखालाई पत्रकारको पेशागत सुरक्षा, स्वतन्त्रता र अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न आग्रह गरेका छन्।










