सर्लाही बरहथवा ।। सर्लाहीको बरहथवा नगरपालिका–६ मा भाद्र २३ र २४ गते भएको जेन–जीको आन्दोलनका क्रममा बरहथवा नगरपालिका, वडा कार्यालयमा आगजनी हुँदा कम्प्युटर, ल्यापटप, प्रिन्टर, दराज, फाइल, कुर्सी, पंखा, सोफा, कुलर, इन्भर्टर, ब्याट्रीलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि वडा कार्यालयका सबै सेवाहरू ठप्प भएका थियो।
आज स्थानीय बासिन्दाको सहयोगमा वडा कार्यालय परिसरमा सरसफाइ गरी पुनः सेवाहरु सुचारु गरिएको हो। वडा कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीहरू — ल्यापटप, प्रिन्टर, कुर्सी, पंखा लगायतका सामग्री वडा बासिन्दाले सहयोग गरेका छन्।
वडा वासीहरूको सहयोग र सक्रियताले कार्यालय पुन सञ्चालनमा आएको भन्दै वडा अध्यक्ष अफताब आलम (मिस्टर) ले सम्पूर्ण वडा बासी, भद्रभलाद्मी, सामाजिक अगुवा तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
हाल पुरानै स्थानबाट सेवा प्रवाह सुरु गरिएको भए पनि सुरक्षित स्थानको आवश्यकता भएकाले नयाँ स्थानमा वडा कार्यालय भवन व्यवस्थाको प्रक्रिया अघि बढाइएको वडा अध्यक्ष आलमले जानकारी दिनुभयो। नयाँ भवन व्यवस्था नभएसम्म सेवा पुरानै भवनबाट निरन्तर सञ्चालन गरिने उनले बताउनुभयो।










