२०८३ श्रावण ६ बुधबार
२०८३ श्रावण ६ बुधबार

सुवाश मंडल
​गौर, रौतहट ।। जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा अपराध नियन्त्रण, शान्ति सुरक्षा र गैरकानुनी गतिविधि विरुद्ध आक्रामक रूपमा कार्य सम्पादन गरेको छ । प्रहरी उपरीक्षक सिताराम रिजालले आइतबार एउटा् पत्रकार सम्मेलन गरेर रौतहटको जिल्लाको वार्षिक प्रगति विवरण सार्वजनिक गरेका छन् । वार्षिक प्रगति विवरण अनुसार यस अवधिमा भन्सार छली, अवैध काठ, सवारी कारबाही र अवैध उत्खननबाट कुल ५ करोड ९२ लाख ५५ हजार ७२१ रुपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्य भन्दा ५.२४ प्रतिशतले बढी हो ।

आर्थिक वर्षभरि रौतहटमा कुल १,१६२ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ६८० वटा फर्स्योट भइसकेका छन् भने ४७२ वटा अनुसन्धानको क्रममा रहेका छन् । विभिन्न अपराधमा संलग्न ६१४ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, अदालतको फैसला कार्यान्वयन तर्फ लक्ष भन्दा बढी सफलता हासिल गर्दै ४४८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको छ। जसबाट ७६ वर्ष ११ महिना ११ दिन कैद भुक्तान र ६९ लाख ७१,८७४ रुपैयाँ जरिवाना असुल भएको छ ।

प्रहरी उपरीक्षक रिजालका अनुसार प्रहरीले लागुऔषध विरुद्धको अभियानमा ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरेको छ। सो क्रममा ८४७ केजी ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर, ४,२६५ एम्पुल मनोदिपक पदार्थ र १३,९९६ वटा प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको छ। यसैगरी, अवैध हातहतियार तर्फ ६ थान हतियार र ११ थान गोली सहित ३ जना र १ लाख ३६ हजार खोटा मुद्रा (जाली नोट) सहित ७ जना पक्राउ परेका छन् ।

सडक सुरक्षा तर्फ वर्षभरि १,०८८ वटा सवारी दुर्घटना भएका छन्, जसमा ५३ जनाको मृत्यु र १,६९६ जना घाइते भएका छन्। ट्राफिक नियम मिच्ने १०,२५५ वटा सवारी साधनलाई कारबाही गरी १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । ​भन्सार छली तर्फ ठूलो सफलता हात पार्दै प्रहरीले १५५ वटा सवारी साधन नियन्त्रणमा लिनुका साथै १८ जनालाई पक्राउ गरेको छ। स्रोत नखुलेको १३ लाख ६२,२०० रुपैयाँ नगद सहित ४ जना पक्राउ परेका छन्। अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत ५ वटा भट्टी नष्ट गरी १,५४५ लिटर तयारी मदिरा र २,००० लिटर कच्चा पदार्थ बरामद गरिएको छ।

८ लाख १३ हजार ५७३ जनसंख्या र १,१२६ वर्ग किलोमिटर क्षेत्रफल रहेको रौतहट जिल्लामा ९०४ जनाको दरबन्दी (हाल ७७० जना कार्यरत) रहेको प्रहरीले जनस्तरमा पनि राम्रो प्रभाव छोडेको छ। वर्षभरि ९५४ वटा सामुदायिक कार्यक्रम संचालन गरिएका छन्, जसमा २४,३७३ जना स्थानीय नागरिकको सहभागिता रहेको थियो। जिल्ला प्रहरी कार्यालयबाट यस अवधिमा महिला, पुरुष, बालबालिका, ज्येष्ठ नागरिक र शारीरिक अशक्त गरी कुल १,३३,७७४ जना सेवाग्राहीहरू लाभान्वित भएका छन् । ​उत्कृष्ट कार्य गर्ने १६२ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ भने अनुशासन उल्लंघन गर्ने २८ जनामाथि कारबाही समेत गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।