
सुवाश मंडल
आन्ध्र प्रदेश (भारत) ।। भारतको आन्ध्र प्रदेशमा अन्धविश्वासका कारण एक व्यक्तिको ज्यान गएको दुःखद घटना सार्वजनिक भएको छ। आफूमा दैवी शक्ति रहेको र उड्न सक्ने दाबी गर्ने ४९ वर्षीय एक हिन्दू पुजारीको पहाडबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ती पुजारीले आफूसँग अलौकिक क्षमता भएको र आफू हावामा उड्न सक्ने विश्वासका साथ एउटा अग्लो पहाडको चुचुरोबाट हाम फालेका थिए। तर, पहाडबाट हाम फाल्नासाथ उनी सिधै तल खसेका थिए र गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै ज्यान गएको थियो । प्रारम्भिक अनुसन्धान र स्थानीय स्रोतका अनुसार ती पुजारी आफू वास्तवमै उड्न सक्ने भ्रम र अन्धविश्वासमा पूर्ण रूपमा परेका थिए। उनले यो कदम कुनै आत्महत्याको उद्देश्यले नभई आफ्नो ‘दैवी शक्ति’ प्रदर्शन गर्नका लागि चालेको बुझिएको छ।
घटनाको जानकारी पाउनसाथ स्थानीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ र घटनाको पछाडि अन्धविश्वास मात्रै थियो कि वा ती पुजारी कुनै मानसिक समस्याबाट गुज्रिरहेका थिए भन्नेबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
२१औँ शताब्दीमा पनि यस्ता अन्धविश्वासका कारण ज्यान गुमाउनु परेको भन्दै यस घटनाले सामाजिक सञ्जाल र स्थानीय स्तरमा चेतनाको कमीलाई लिएर गम्भीर बहस सिर्जना गरेको छ ।




