
सुवाश मंडल
कोहलपुर, बाँके ।। बाँकेको कोहलपुर नगरपालिकामा आफ्नै सहोदर भाइले दाइको बीभत्स हत्या गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर ४ गोहवा बस्ने २० वर्षीय बिनोद चौधरीले आफ्ना २६ वर्षीय सहोदर दाइ मनोज चौधरीको कुटपिट गरी हत्या गरेका हुन् ।
प्रहरीका अनुसार आइतबार (असार १४ गते) साँझ करिब ७:०० बजे घटेको सामान्य घरायसी विवादमा बिनोदले दाइ मनोजमाथि घातक प्रहार गरेका थिए। कुटपिटबाट मनोजको घटनास्थलमै मृत्यु भएपछि आरोपी बिनोदले शव लुकाउने नियतले स्थानीय नहरमा फालेर फरार भएका थिए । घटनाको जानकारी पाएलगत्तै खटिएको इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले फरार अभियुक्तको खोजी तीव्र पारेको थियो ।
यसै क्रममा आज (सोमबार) बिहान करिब ६:३० बजे भारततर्फ भाग्दै गरेको अवस्थामा बिनोदलाई बाँकेकै कोहलपुर नगरपालिका वडा नम्बर १५ चनहवाबाट प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगंज पठाइएको छ,प्रहरी स्रोतले भन्यो। पक्राउ परेका अभियुक्तमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी घटनाको वास्तविक कारण र थप विवरणबारे गम्भीर अनुसन्धान भइरहेको छ ।
सुवाश मंडल
बलरा , सर्लाही ।। सर्लाहीको बलरा नगरपालिकामा एक १५ वर्षीया बालिकामाथि जबर्जस्ती करणी (बलात्कार) को प्रयास भएको छ। बालिकालाई नियन्त्रणमा लिएर जबरजस्ती गर्न खोज्ने स्थानीय ४२ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी र स्थानीय बासिन्दाका अनुसार बलरा नगरपालिका–४ निवासी ४२ वर्षीय फणिन्द्र सिंहले सोमबार दिउँसो करिब २ बजेको समयमा स्थानीय ती बालिकाको घरमा प्रवेश गरी जबर्जस्ती करणीको प्रयास गरेका थिए। सिंहले जबरजस्ती गर्न थालेपछि पीडित बालिकाले गुहार मागेकी थिइन्।
बालिका चिच्याएको आवाज सुनेर तत्कालै पुगेका स्थानीय बासिन्दाले आरोपी सिंहलाई घटनास्थलबाटै नियन्त्रणमा लिएका थिए। स्थानीयले उनलाई तत्कालै इलाका प्रहरी कार्यालय बलरामा बुझाएका हुन् ।
बलात्कारको आरोप लागेका सिंहलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ। यता, पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि सदरमुकाम मलङ्गवा लगिएको प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले जानकारी दिएका छन् । यस घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले आरोपी सिंह प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरेका छन् ।
डिएसपी गौतमका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले यस विषयमा सूक्ष्म अनुसन्धान सुरु गरिसकेको छ। “आरोपी हाम्रो नियन्त्रणमा छन् र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ,” डिएसपी गौतमले भने, “अनुसन्धानको प्रक्रिया पूरा भएपछि मात्रै थप विवरण सार्वजनिक गर्न सकिन्छ।” प्रहरीले घटनाको कानुनी प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।
सुवाश मंडल
माधोपुर ,रौतहट ।। रौतहट जिल्लाको माधव नारायण नगरपालिका–६, माधोपुरमा स्थानीय बासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको खानेपानी आयोजना वर्षौंदेखि अलपत्र परेको छ। निर्माण सुरु भएको करिब ७–८ वर्ष बितिसक्दा पनि खानेपानी ट्याङ्की लगायतका संरचना अलपत्र अवस्थामा रहँदा स्थानीय बासिन्दा अझै पनि शुद्ध खानेपानीको अधिकारबाट वञ्चित छन् ।
करोडौँको लागतमा सुरु भएको यो योजना निर्माण कार्य अधुरै रोकिँदा माधोपुरका सयौँ परिवार दैनिक रूपमा खानेपानीको चरम अभाव झेल्न बाध्य भएका छन्। एक स्थानीयले आफ्नो दुख पोख्दै भन्ने,नेतृत्व फेरियो, तर फेरिएन अवस्था ‘जनप्रतिनिधिहरू आउँछन्, जान्छन्, तर हाम्रो दुःख जस्ताको तस्तै छ ।
आयोजना सुरु हुँदा सो पालिकाको नेतृत्व पूर्व नगर प्रमुख बिरेन्द्र प्रसाद यादव र पूर्व वडा अध्यक्ष राजिव कुमार यादवले गरेका थिए । उनीहरूको कार्यकाल सकिएर अहिले स्थानीय तहमा नयाँ नेतृत्व आइसकेको छ । वर्तमान अवस्थामा नगर प्रमुख बैधनाथ प्रसाद यादव (बैजु) र वडा अध्यक्ष राम नरेश रायले कार्यभार सम्हालिरहेका छन् । नेतृत्व परिवर्तन भए पनि अलपत्र परेको खानेपानी आयोजनालाई गति दिन कसैले ठोस पहल नगरेको स्थानीयहरुको आरोप छ । सम्बन्धित निकायको चरम बेवास्ता र ठेकेदारको ढिलासुस्तीका कारण राज्यको करोडौँको लगानी बालुवामा पानी हाले सरह भएको छ । समयमै योजना सम्पन्न नहुँदा एकातिर भौतिक संरचनाहरू जीर्ण बन्दै गएका छन् भने अर्कोतिर जनताले यसको प्रत्यक्ष मार खेपिरहेका छन्।
वर्षौंदेखि स्थानीय शुद्ध खानेपानीको पर्खाइमा छन् । अब पनि ढिलासुस्ती सह्य हुँदैन। वर्तमान मेयर बैधनाथ प्रसाद यादव (बैजु) र वडा अध्यक्ष राम नरेश रायले यस विषयलाई गम्भीरतापूर्वक लिई निर्माण कार्य यथाशीघ्र सम्पन्न गराउनुपर्छ र माधोपुरवासीलाई नियमित खानेपानीको व्यवस्था मिलाउनुपर्छ । स्थानीय बासिन्दाहरूले यस अलपत्र खानेपानी आयोजनालाई चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन सम्बन्धित निकाय, ठेकेदार र वर्तमान जनप्रतिनिधिहरूसँग जोडदार माग गरेका छन् ।
सुवाश मंडल
गुवाहाटी ।। भारतको असम राज्यमा यतिबेला बाढीका कारण जनजीवन निकै कष्टकर बनेको छ। प्राप्त जानकारी अनुसार राज्यको धेमाजी जिल्लामा बाढीले उग्र रूप लिएको छ। बाढीको रूप कति भयावह छ भन्ने कुरा धेमाजीस्थित सिमेन नदीमा बनेको रेल्वे पुल आंशिक रूपमा भत्किएको घटनाबाट प्रष्ट हुन्छ। उत्तर-पूर्वी फ्रन्टियर रेल्वे (NFR) का एक अधिकारीले यस घटनाको पुष्टि गरेका छन् । यसैबीच, भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले आज असमका मुख्यमन्त्री हिमन्त बिस्वा शर्मासँग फोनमा कुराकानी गर्दै राज्यको बाढी स्थितिको जानकारी लिनुभएको छ।
मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा एक पोस्ट शेयर गर्दै यस कुराकानीबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार गृहमन्त्री शाहलाई बाढी प्रभावित क्षेत्रमा राज्य सरकारद्वारा भइरहेको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरूबारे अवगत गराइएको छ।
जवाफमा गृहमन्त्री शाहले केन्द्र सरकारको तर्फबाट असमलाई सम्भव भएसम्मको सबै सहयोग र सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री शर्माले संकटको घडीमा चासो देखाएकोमा गृहमन्त्री शाहप्रति आभार प्रकट गर्दै लेख्नुभएको छ ।




