
सुवाश मंडल
रौतहट ।। रौतहट जिल्लाको परोहा नगरपालिकाको दशौँ ऐतिहासिक नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। “सभ्य र समृद्ध परोहा : हाम्रो परोहा राम्रो परोहा” भन्ने मूल नाराका साथ आयोजित उक्त विशेष समारोहमा नगरपालिकाका नगरप्रमुख शेख वकिल, उपप्रमुख सुग्नधी गिरि , प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा,नेपाली काङ्ग्रेसको नेता रामचन्द्र गिरी, नगरसभा सदस्यहरू, स्थानीय भद्रभलाद्मी, नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्ष संजय कार्की लगायत विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सुरक्षाकर्मीहरूको व्यापक उपस्थिति रहेको थियो ।
नगर अधिवेशनमा नगरप्रमुख वकिलद्वारा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको छ। नगरप्रमुख वकिलले ऐतिहासिक नगरसभामा सहभागी सम्पूर्ण नगरबासी, जनप्रतिनिधि तथा कर्मचारीहरूलाई हार्दिक स्वागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र नगरको समृद्धिका लागि यो अधिवेशन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । परोहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रू. ४९ करोड ६८ लाख ९७ हजार ४ सय ४४ को अनुमानित बजेट सार्वजनिक गरेको छ ।
बजेटको मुख्य स्रोत तथा वित्तीय हस्तान्तरणको विवरण निम्न बमोजिम रहेको छ:
१. नेपाल सरकार (संघीय) बाट प्राप्त हुने अनुमानित अनुदान:
संघीय वित्तीय समानीकरण अनुदान:रू. ११ करोड १८ लाख
संघीय सशर्त अनुदान पूँजीगत: रू. ५६ लाख
संघीय विशेष अनुदान: रू. ८९ लाख
संघीय समपूरक अनुदान:रू. १ करोड ७५ लाख
संघीय राजस्व बाँडफाँड: रू. ११ करोड ७ लाख ६७ हजार
सशर्त अनुदान चालू: रू. २० करोड ९५ लाख
२. प्रदेश सरकार (मधेश प्रदेश) बाट प्राप्त हुने अनुमानित अनुदान:
समानीकरण अनुदान:रू. ७६ लाख ५४ हजार
सशर्त अनुदान पूँजीगत:रू. ६० लाख
विशेष अनुदान चालू:रू. ३० लाख
समपूरक अनुदान पूँजीगत:रू. ३० लाख
३. आन्तरिक आय (अनुमानित):
परोहा नगरपालिकाले आगामी वर्ष आफ्नो आन्तरिक स्रोतबाट रू. १ करोड ३१ लाख ७६ हजार ४ सय ४४ संकलन गर्ने लक्ष्य लिएको छ।
यस ऐतिहासिक नगर अधिवेशनले पारित गरेको नीति, कार्यक्रम तथा बजेटले परोहा नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा स्थानीय नगरबासीहरूले गरेका छन्। अधिवेशन निकै उत्साहपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।




